काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशनलाई नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार दाबी गरिएको छ ।
१००० केभीए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन् । चार्जिङ स्टेशनको उद्घाटन गर्दै खाणले विद्युतीय सवारीसाधनको प्रयोग र त्यसको प्रवर्द्धनमा सहयोग पुग्ने कार्य हुनु सराहनीय रहेको र विद्युतीय सवारीसाधनहरू समयको आवश्यकता भएको बताए । यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास व्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैका लागि गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनहरूको प्रयोग उल्लेख्य रूपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानका लागि आफूहरूले पहल गरेको बताए । उपभोक्तालाई भरपर्दो, द्रुत र सुरक्षित चार्जिङ सेवा दिन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
खतिवडाले भने, ‘यो चार्जिङ स्टेशन हामीले केवल व्यावसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं ।’
उनले ईभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको तथा निकट भविष्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याउने जानकारी दिए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले ईभी सवारीलाई सफलतापूर्वक सञ्चालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा शशीला मोटर्सले यो परियोजना कार्यान्वयन गरेको बताए ।
यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका ईभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् ।
FACEBOOK COMMENTS