काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवताविरुद्धको अपराधको मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ । यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।
गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनपछि सत्ताबाट हटाइएकी हसिनाले धेरै मुद्दाहरूको सामना गरिरहेकी छिन्, जसको सुनुवाइ अहिलेसम्म क्यामेराबाट टाढा राखिएको छ ।
न्यायाधिकरणको यो निर्णयले यो परम्परा तोड्ने छ । फेब्रुअरी १८ म तीन सदस्यीय न्यायाधिकरणले हसिनाविरुद्धको अनुसन्धान अप्रिलसम्ममा पूरा गर्न आदेश दिएको थियो । राज्य समाचार एजेन्सी बीएसएसका अनुसार अभियोजन पक्षले जुलाई–अगस्ट २०२४ मा भएको जनविद्रोहको क्रममा मानवताविरुद्धको अपराधको आरोप आज न्यायाधिकरणमा पेस गर्नेछ ।
विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि हसिनाको अवामी लिग सरकार अगस्ट ५, २०२४ मा अपदस्थ गरिएको थियो ।
न्यायाधिकरणले हसिनाविरुद्ध पहिले नै पक्राउ पुर्जी जारी गरिसकेको छ, जबकि अन्तरिम सरकारले उनको सुपुर्दगीको लागि भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ । जुलाई–अगस्ट २०२४ को हिंसामा सयौं मानिसहरूको मृत्यु भएपछि हसिना सरकारका अधिकांश वरिष्ठ नेताहरूलाई पक्राउ गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टअनुसार गत वर्ष जुलाई १५ देखि अगस्ट १५ सम्म लगभग १४ सय मानिसहरू मारिएका थिए ।
FACEBOOK COMMENTS