काठमाडौं । लामो राजनीतिक रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकले हिजो मंगलबार नयाँ गभर्नर पाएसँगै बधाई, शुभकामना र आ–आफ्नो सुझाव व्यक्त गर्ने क्रम आजैदेखि सुरू भएको छ ।
यसैक्रममा समग्र निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त गभर्नर डा. विश्व पौडेलसँग भेट गरेको छ । भेटमा बधाई शुभकामनाका साथै मुलुकको विद्यमान आर्थिक स्थितिलाई सुधार गर्न आगामी दिनमा राष्ट्र बैंकले चाल्नुपर्ने कदमहरूबारे सुझावसमेत प्रस्तुत गरिएको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नरसँगको भेटमा लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक रहेको बताएको छ ।
यस्तै, सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कजा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।
सोही भेटमा सहभागी रहेका महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरी केन्द्रीय बैंकले भूमिका खेल्नुपर्ने बताएका छन् ।
त्यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नुपर्ने सुझाव दिनु दिएका छन् ।
सो अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिएका छन् ।
यी समाचारहरू पनि पढ्नुहोस्–
नयाँ गभर्नरलाई चन्द्र ढकालको सुझाव– लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउनुहोस्
राष्ट्र बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुनेछन्, छलफलविना निर्णय लिन्नँ : गभर्नर पौडेल
FACEBOOK COMMENTS