झापा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
पार्टीको पूर्वआप्रवास समन्वय विभागले आज विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राखे ।
“हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।” विदेश जाने नेपालीलाई कमदक्ष, दक्ष र अध्ययन गरी तीन किसिममा प्रकारमा बाँड्नुपर्ने धारणा राख्दै नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेलाई प्राप्त भएको भन्दै वर्तमाने गठबन्धनबाट बनेको सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताए ।
FACEBOOK COMMENTS