काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत कम्पनीहरूको आईपीओ रोक्न नहुने बताएका छन् ।
आज मङ्गलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै देउवाले नेपाल धितोपत्र बोर्डले चाँडै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने अपेक्षा रहेको पनि बताए ।
उनले भने, ‘शेयर निष्कासन रोकिएको कुरा सुनेँ । धितोपत्र बोर्डले चाँडै प्रक्रिया अगाडि बढाउनेछ भन्ने अपेक्षा छ । यस्तो प्रक्रिया रोक्नु हुँदैन ।’
देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको बताए । उनले लगानीको प्रक्रिया सरल, सहज र पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
उत्पादित विद्युतको खपत र व्यापार सरकारको दायित्व भएको उल्लेख गर्दै उनले सो प्रक्रियामा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए ।
ऊर्जा क्षेत्र नेपालको लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले देशको प्राकृतिक स्रोतको सही उपयोग गर्न ऊर्जा विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे ।
FACEBOOK COMMENTS