काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा गठबन्धन सरकार आएपछि जनतामा आशा र भरोसा बढेको दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा आज शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले छोटो समयमा गरेका उपलब्धीमुलक कामबाट जनतामा आशा र भरोसा पलाएको बताएका हुन् ।
‘सरकार सही दिशामा अघि बढिरहेको छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ,’ देउवाले सम्बोधनका क्रममा भने ।
त्यस्तै उनले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्र भएको जानकारी पनि दिएको छ । ‘संघको कार्यक्षेत्र अन्तर्गत मुलुकभर १७७ किमी सडक कालोपत्र भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन्,’ उनले भने । ८२ वटा झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको देउवाले जानकारी दिएका छन् ।
यसैगरी भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको, यसै वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेकोलगायत कामको फेहरिस्त सम्बोधनका क्रममा प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ
FACEBOOK COMMENTS