विराटनगर । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा छानबिन गर्न बनेको उच्चस्तरीय टोली घटनास्थल पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा उच्चस्तरीय प्राविधिक टोली भद्रपुर विमानस्थल पुगेको हो ।
शुक्रवार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा रनवेबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा छानबिन गर्न छानबिन समिति गठन भएको थियो ।
टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरको प्राविधिक समूह समेत सहभागी छन्। उनीहरूले जहाजको प्राविधिक व्यवस्थापन र घटनाको सूक्ष्म अनुसन्धानका लागि आवश्यक उपकरणहरू समेत साथमै लगेका छन्।
काठमाण्डौबाट चन्द्रगढीका लागि उडेको उडान नम्बर ९०१ को जहाज विमानस्थलमा ल्यान्ड भएपछि दुर्घटनामा परेको थियो । जहाज दुर्घटना भए पनि जहाजमा सवार ५१ जना यात्रुमध्ये केहीलाई सामान्य चोटपटक लागेको थियो। घाइते यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जनाएको छ। कम्पनीले दुर्घटना लगत्तै उद्धारमा खटिने सुरक्षा निकाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
FACEBOOK COMMENTS