काठमाडौं । शिव सुन्दर टोल सुुधार समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थानीय सरकारको जनतासंग प्रत्यक्ष जोडिने युनिट भनेकै टोल सुुधार समितिहरू भएकाले उनीहरूको प्राथमिकता अनुुसार काम गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।
मेयर कार्कीले पिउने पानी र शहरी सुरक्षाको व्यवस्थालाई आफूले उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए । शिव सुन्दर टोल सुुधार समितिभित्रका टोलवासीहरूलाई आफूले विभिन्न चरणमा गरेर पिउने पानीको दिर्घकालिन व्यवस्थाका लागि काम गरिरहेको जानकारी गराए ।
एकै पटक एउटै कार्यक्रममा पिउने पानीको प्रवन्ध गर्न नसकिएपनि हाल रहेको पूर्वाधारलाई थप विस्तार गर्दै चरणबद्धरूपमा आफनै कार्यकालमा पानी वितरण गर्ने उनले प्रतिवद्धता जनाए ।
शहरी सुरक्षा अहिले सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेकाले नगरभित्र सीसीटीभी जडान कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम भैरहेको बनाए ।
उनले कागेश्वरी मनोहरा नगरलाई उज्यालो नगर बनाउने आफ्नो अभियानलाई साकार पार्ने प्रतिवद्धता पनि जनाए । नगरपालिकाले घर बहाल कर संकलनलाई विशेष जोड दिंने र बहाल करको दर घटाई त्यसको दायरा विस्तार गर्ने सोंच अनुसार काम भएको भन्दै सबैलाई बहाल कर तिर्न अनुरोध समेत गरे । उनले यसरी उठेको घर बहाल करको २५ प्रतिशत रकम सम्बन्धित क्षेत्रका बासिन्दाको चाहना अनुसारको विकास कार्यमा उपयोग गरिने पनि बताए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष अनिल थापाले आफूले वडाबासीहरूसंग जोडिएर काम गर्ने प्रतिवद्धता जनाए ।
वडा अध्यक्ष थापाले घर भाडामा लगाउदा हरेक घरधनीले भाडामा बस्नेसंग सम्झौता गरेर मात्र घर भाडामा लगाउने कार्यमा पनि समितिले सहयोग गर्नुपर्ने बताए ।
पछिल्लो पटक विभिन्न खालका घटनाहरू बढ्दै गएकाले त्यसको न्यूनिकरण र टोलवासीको सुरक्षाका लागि समेत घर वहालमा दिंदा एउटा सम्झौता गरेरमात्र दिंदा राम्रो हुने उहाको सुुझाव थियो ।
उनले सीसीक्यामरा टोलवासी र नगरपालिकाको वरावर लागतमा जडान गरिने योजना सुनाए । साथै उनले टोल सुधार समितिसंग नियमित सम्पर्क छलफलमा रहेर विकास कार्यक्रम ल्याउने र त्यसमा समितिका पदाधिकारीहरूलाई पनि संगै लैजाने प्रतिवद्धता जनाए । साथै उनले टोलवासीसंग नियमित संवादको व्यवस्था आफूले गर्ने विश्वास पनि दिलाए ।
समाजका अध्यक्ष रण बहादुर कार्कीले टोल सुुधार समितिहरूले जनतासँग प्रत्यक्ष जोडिएका विकास कार्यक्रम माग गर्ने हुंदा नगरपालिकाले अलि बढी ध्यान दिएर संवोधन गर्नुपर्ने सुुझाव राखे । स्थानीय जनताको पहिलो प्राथमिकतानै पिउने पानी, सफा बाटो, उज्यालो र सुरक्षित टोल हुने हुँदा सोही अनुसार कार्यक्रम बन्नुपर्नेमा उनको जोड थियो ।
स्वागत मन्तव्यको क्रममा समितिका सहसचिव विदुरचन्द्र लामिछानेले नगरपालिका र वडाले टोलवासीसंग प्रत्यक्ष जोडिएर उनीहरूका गुनासाको सुनुवाई गर्नुपर्ने बताए । यसका लागि एउटा समय नै छुट्याएर नियमित संवाद छलफलको वातावरण बनाउनुु पर्ने उनको सुझाव थियो ।
FACEBOOK COMMENTS