काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका सबै शिव मन्दिर तथा शक्ति पिठमा महाशिवरात्रि पर्व मनाइदै छ ।
महाशिवरात्रि पर्व मेलाका लागि पशुपति मन्दिरमा देश तथा विदेशबाट साधु सन्तहरु आइसकेका छन् । आज मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताए ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरु आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए ।
पर्व मनाउन गुठी संस्थानले ४० लाख खर्च हुने जनाएको छ । गुठीले साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरेको छ ।
महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।
FACEBOOK COMMENTS