काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफवीन)ले आगामी शुक्रबारदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ ।
महिलाहरूले उत्पादन गरेका घरेलु उत्पादनको ब्राण्डिङ तथा प्रवर्द्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको आयोजक महिला उद्यमी महासंघ नेपालले जनाएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यही चैत १६ गतेदेखि २० गतेसम्म हुने मेलामा ५० हजार अवलोनकर्ताहरु आउने र करिब पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् । विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेलाको आयोजना गरिएको उनको भनाइ छ ।
महासंघले हिजो शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन् । सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
मेलाले महिलाका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सघाउ पुर्याउने अध्यक्ष ज्ञवालीले बताइन् । मेलामा स्थानीय तहदेखिका केन्द्रसम्मका साना तथा ठूला महिला उद्यमीका एक सय भन्दा धेरै स्टल रहने छन् । व्यापार मेलामा नव महिला उद्यमी, अपाङ्गता भएका महिला उद्यमीहरूका लागि पनि स्टलको व्यवस्था गरिएको छ ।
मेलामा स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू रहने पनि बताइएको छ ।
FACEBOOK COMMENTS