काठमाडौं । सरकारले समयावधि सकिन लागेको ६ देशको श्रम सहचारी र काउन्सेलर नियुक्तिको तयारी सुरु गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कोरिया, मलेसिया, ओमान र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीको समयावधि सकिने भएपछि नयाँ नियुक्तिको तयारी सुरु गरेको हो ।
मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियामा श्रम सहचारी र श्रम काउन्सेलरको समायवधि सकिने भएपछि नयाँ नियुक्त गर्ने सूचना सार्वजनिक गरेको छ । योसँगै युएई, साउदी अरेबिया र ओमानमा श्रम काउन्सेलर नियुक्त गर्ने तयारी पनि अघि बढाइएको छ । श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आवश्यकता अनुसार श्रम गन्तव्यमा नयाँ नियुक्त गर्न लागिएको बताएका छन् ।
काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार श्रम मन्त्रालय महाततका कार्यलयमा योग्यता पुगेका कर्मचारीहरूलाई प्रतिस्पर्धा गराएर नयाँ नियुक्त गरिने छ । श्रम सहचारीको काम नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमन सम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार एवम् कामदारको हित संरक्षणार्थ चालेका कदम बारे नेपाल सरकारलाई जानकारी गराउने गर्छ ।
कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवाला (मेनपावर) बीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने गर्छ । श्रम सहचारीले वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न, गराउन सहयोग गर्नुपर्ने व्यवस्था रहेको छ । सम्बन्धित देशमा नेपाली कामदारको सीप अनुसारको काम उपलब्ध हुने भएमा सो सम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने पनि जिम्मेवारी भित्र पर्छ ।
प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको मृत शरीर सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने काम श्रम सहचारीको हुने मन्त्रालयले जनाएको छ । नेपालबाट कामदार आपूर्ति गर्नका लागि सरकारी स्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्ने, कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरिवेक्षण गर्नेलगायतका जिम्मेवारी समेत श्रम सहकारीको जिम्मेवारीमा रहन्छ ।
निजामती सेवाको उपसचिव सरहको अधिकृत स्तरको पदमा कम्तीमा तीन वर्ष सेवा पूरा गरेकोले मात्रै काउन्सेलर बन्न पाउने व्यवस्था रहेको छ । श्रम सहचारीमा अधिकृत स्तरको पदमा कम्तीमा ३ वर्ष काम गरेका मात्रै योग्य हुने छन् । काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्ति सिफारिस गर्न सहसचिव एवम् प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा छनोट तथा नियुक्ति सिफारिस समिति रहने व्यवस्था छ । सदस्यमा सहसचिव एवम् रोजगार व्यवस्थापन महाशाखा प्रमुख, मन्त्रालयका सचिवले तोकेको एक जना महाशाखा प्रमुख वा सहसचिव सदस्य रहने उल्लेख छ ।
FACEBOOK COMMENTS