काठमाडौं । सरकारले श्रमिक र रोजगारदाताबीच सिधा सम्पर्क गर्नका लागि नयाँ प्रविधिमैत्री पोर्टल ‘श्रमसंसार पोर्टल’ सार्वजनिक गरेको छ।
राइड शेयरिङ एपजस्तै गरी रोजगारी खोज्ने र दिने पक्षबीच सहजता ल्याउने उद्देश्यले शुरु गरिएको यो पोर्टलबाट अब रोजगारीका अवसरहरू सजिलै प्राप्त गर्न सकिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रमसंसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन्।
रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्।
उनले भने ‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ।’
सार्वजनिक सवारी सेवामा आएको प्रविधिक परिवर्तनजस्तै, श्रम बजारमा समेत डिजिटल माध्यमको उपयोगले पारदर्शिता, पहुँच र विश्वसनीयता बढ्ने विश्वास गरिएको छ ।
यो पोर्टलबाट रोजगारदाता तथा श्रमिक दुवैले निःशुल्क रूपमा सेवा लिन सक्नेछन् ।
यस पोर्टलबाट समावेशी र दक्ष जनशक्ति व्यवस्थापनतर्फ टेवा पुग्ने विश्वास छ ।
FACEBOOK COMMENTS