काठमाडौँ । सरकारले काठमाडौँ केन्द्रित वैदेशिक रोजगारसम्बन्धि सेवा विकेन्द्रित गर्दै सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृतिको सुरुवात गरेको छ । सरकारले सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट सेवा दिन थालेको हो ।
आजदेखि धनगढी र सुर्खेतका श्रम तथा रोजगार कार्यालयबाट पनि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह हुन थालिएकाे हाे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन् । यसअघि पुस २४ गते जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको सुरुवात गरिएको थियो ।
धनगढी र सुर्खेतमा तयार नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो । कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह गर्न थालिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए ।
योसँगै अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट सेवा प्रवाह गर्न थालिएको छ ।
FACEBOOK COMMENTS