काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । श्रेष्ठले गंगारामलाई हटाएर आफैं दलको नेता बनेको बेहोराको पत्र संसद् सचिवालयमा पठाएकी हुन् ।
श्रेष्ठले गंगाराम चौधरीले पार्टीको हित विपरीत कार्य गरेकाले उनलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी साउन ३० गते कारबाही गरेको संसद सचिवालयलाई जानकारी गराएकी छन् ।
श्रेष्ठले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने उल्लेख गरेकी छन् ।
पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह समेत गरेकी छन् ।
यसअघि निर्वाचन आयोगले श्रेष्ठको नेतृत्वको नाउपाको कार्यसमितिलाई मान्यता दिएपछि उनका श्रीमान रेशमलाल चौधरी समुह छलफलमा रहको छ । रेशम समुहले लालबीर चौधरीलाई अध्यक्ष बनाएपनि निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा फुटको संघारमा पुगेको छ । श्रीमान श्रीमतीको विवादले आयोगले कार्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचन समेतमा नाउपालाई दल दर्ता गरिदिएको छैन ।
FACEBOOK COMMENTS