काठमाडौं । दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ मंगलबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व अपरिहार्य भएको बताए । उनले आजको प्रतिस्पर्धी युगमा सफल हुन प्रविधिको ज्ञान र सीप अनिवार्य रहेको उल्लेख गर्दै युवालाई जागिरे मानसिकताबाट बाहिर निस्केर उद्यमशीलतामा केन्द्रित हुन आग्रह गरेका हुन।
सम्मेलन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा सचिव मदन भुजेल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा। खगराज शर्मा र महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले पनि सहकारी क्षेत्रमा युवा सहभागिता र प्रविधिको महत्त्वमा जोड दिए ।
सम्मेलनको पहिलो दिन ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा प्यानल छलफल सम्पन्न भएको छ । प्यानलमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० बद्री गुरागाईं, फिनटेक एलायन्सका उपाध्यक्ष देवेन्द्र खड्का, नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना र एग्री नेपालको सीईओ सुनिता नेमाफुकी सहभागी भएका थिए ।
छलफलमा सहभागीहरूले युवालाई उद्यममा आकर्षित गर्न राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने र युवा सहभागिता बढे मात्र वास्तविक आर्थिक सशक्तिकरण सम्भव हुनेमा जोड दिए। सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ र सातै प्रदेशका युवा सहकारीकर्मी, युवा उद्यमी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
FACEBOOK COMMENTS