काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि विस्तार र वित्तीय स्थिरतालाई प्राथमिकता दिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ ।
सिबिफिनका अनुसार समीक्षा मार्फत नीतिगत आधारभूत व्यवस्था यथावत राख्दै समयअनुसार केही सुधारात्मक कदम अघि बढाइएको छ, जसले वित्तीय प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
विशेषगरी साना, घरेलु तथा लघु उद्यममा कर्जा विस्तार, कार्यशील पूँजी व्यवस्थापनमा सुधार, पुनर्संरचना सुविधा तथा विदेशी विनिमय जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थाले कर्जा प्रवाह र लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उत्पादन, निर्यात र रोजगारी सिर्जनासँग जोडिएका क्षेत्रमा लगानी बढ्न सहयोग पुग्ने तथा डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणाली विस्तारले वित्तीय क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने सिबिफिनको धारणा छ ।
परिसंघले खराब कर्जा वृद्धि र तरलता व्यवस्थापनजस्ता चुनौती समाधानका लागि नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कदम चाल्ने विश्वास समेत व्यक्त गरेको छ ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायले वित्तीय स्थिरता कायम राख्दै अर्थतन्त्र सुदृढ बनाउन यस्तो नीतिगत सुधार महत्वपूर्ण हुने बताएका छन्।

FACEBOOK COMMENTS