काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै स्वागत गरेको छ ।
सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व र नियामकीय सरलीकरणमा जोड दिएको बताएको छ ।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाले जारी गरेको विज्ञप्तिमा विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने गरी नीतिगत व्यवस्थाहरू ल्याइनु प्रशंसनीय रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान र नीतिगत स्थिरताका लागि नीतिगत दर, नगद मौज्दात अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्ने निर्णय सकारात्मक छ ।’
सिबिफिनले बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचिलोपन, डिजिटल बैंकिङमार्फत सञ्चालन खर्च कटौती गर्ने प्रोत्साहन र वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने जस्ता कदमलाई ‘दूरदर्शी’ भनेको छ । यी व्यवस्थाहरूले बैंकिङ क्षेत्रको कार्यक्षमता बढाउने र तरलता प्रवाह व्यवस्थापनमा सहजता ल्याउने सिबिफिनको ठहर छ ।
तर, सिबिफिनले आफूले पेस गरेका कतिपय महत्वपूर्ण सुझावहरू तत्काल सम्बोधन नभएकोमा राष्ट्र बैंकको ध्यानाकर्षण समेत गराएको छ। विशेषगरी जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्तता सम्बन्धी सहजीकरण र अन्तर्राष्ट्रिय अभ्यास अनुरूपका विवेकशील नियमनका सुधारका विषयहरू यस पटकको नीतिमा नसमेटिएको सिबिफिनले जनाएको छ ।
‘बैंकिङ क्षेत्रमाथि बढ्दो पूँजीगत दबाब र निष्क्रिय कर्जा व्यवस्थापनका लागि हाम्रा सुझावहरू महत्त्वपूर्ण छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यी विषयहरूलाई नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययनसहित आगामी एकीकृत निर्देशन मार्फत व्यावहारिक रूपमा सम्बोधन गर्नेछ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’
सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद र सहकार्य गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत प्रष्ट पारेको छ । नयाँ नीतिले निजी क्षेत्रको पुनरुत्थानलाई गति दिने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।