काठमाडौं । सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश र सभामा भाग लिन पाउने छन् ।
१३ गते शनिबार र १२ गते शुक्रबार सेयर कारोबार नहुने भएका कारण आजसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् । बैंकले गत आवको नाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS