काठमाडाैँ – कवि, गीतकार, बाल साहित्यकार तथा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेम राई परीक्षितका ५ पुस्तक एकैसाथ लोकार्पण गरिएको छ ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्णहरि बराल, साहित्यकार अनन्त वाग्ले, डा. यज्ञेश्वर निरौला, डा. भोला रिजाललगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा गीतकार कृष्णहरि बरालले परीक्षितका गीति सङ्ग्रह मेरो गीत मेरो प्रतिविम्बमा वियोगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेका र मानवतावादी गीतहरू रहेको बताए ।
त्यस्तै डा. भाेला रिजालले परीक्षितका गीत सङ्ग्रहकाे समीक्षा गरेका थिए । कविता कृति माथि कवि विना थिङले समीक्षात्मक टिप्पणी गरेकी थिइन् । साथै लोकार्पित बाल साहित्यका कृतिहरूबारे भने साहित्यकार अनन्त वाग्ले र शान्ति सापकोटाले समीक्षात्मक टिप्पणी गरेका थिए ।
साहित्यकार अनन्त वाग्लेले अबका बालगीतहरूले अंग्रेजी गीतहरू ‘जाेनी जाेनी एस् पापा, हेप्पी बर्थ डे’ लगायतका गीतहरू विस्थापित गर्ने क्षमता राख्नु पर्नेमा जोड दिए । कार्यक्रममा विन्दु अधिकारी ढकालले कवि परीक्षितका कविता वाचन गरेकी थिइन् । कुलपति गंगाप्रसाद उप्रेतीले परीक्षितका क्षमताकाे प्रशंसा गरे ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई लेखक परीक्षितले ५ वटै कृति मोबाइलमा टाइप गरेर प्रकाशनमा ल्याइएकाे बताए । खाेटाङकाे सिम्पानीमा जन्मेका परीक्षित नेपाली साहित्य र शिक्षण पेसामा आवद्ध छन् ।
यस अघि राईका ३ साहित्यिक कृति प्रकाशित छन् । पुस्तकहरू इन्टर्नल प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएको हाे । पुस्तकहरू सपना उड्छ माथि माथि , सपनाहरूकाे प्रतिस्पर्धा, रेल यात्रा, मेराे गीत मेराे प्रतिविम्ब र दि वन्डरफुल वर्ल्ड’ रहेका छन् ।
लोकार्पित पुस्तकहरू ‘सपना उड्छ माथि माथि, १४५/- सपनाहरूकाे प्रतिस्पर्धा कविता सङ्ग्रहकाे ३७५/- ,रेल यात्रा बाल गीत सङ्ग्रह १५५/- , मेराे गीत मेराे प्रतिविम्व (गीत सङ्ग्रह) ३५५/- र दि वन्डरफुल वर्ल्ड’ (अंग्रेजी बाल कविता सङ्ग्रह) काे १७५/- रहेका छन् । लाेकार्पणकाे अवसर पारेर प्रकाशन गृहले सबै पुस्तकमा २० प्रतिशत छुटमा बिक्री गरेको थियो ।
FACEBOOK COMMENTS