काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा आज आइतबार बिहान ११ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरबाट पीडित थिए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, सङ्घर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भीर अर्थ भेटिन्छन् ।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं. २ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।
रसिकले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ वर्षसम्म पदमा रही विविध जिम्मेवारी निर्वाह गरे ।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।
नेपाली गीतसङ्गीतको पहिलो पुस्ता नातिकाजी, अम्बर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।
FACEBOOK COMMENTS