बागलुङ । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ ।
दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो । सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पु¥याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ देखि नै उद्योग निर्माण सुरु गरेको उनले बताए । सङ्घीय सरकारले तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोलाले ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उनको भनाइ छ । निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताए । गाउँमा उत्पादन हुने कृषिउपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
उनले भने, “सबै संरचना निर्माण भइसक्दा धेरै सयम लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरि केही उद्योग सञ्चालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत् र सडकको पहुँच पु¥याएका छौँ, त्यसले गर्दा उपकरण जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योग पनि विस्तारै सञ्चालनमा ल्याउँदै जाने छौँ ।”
गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकारबाट आउनुपर्ने तीन करोडमध्ये आव २०७७-०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९-०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताए । यस वर्ष गण्डकी प्रदेश सरकारबाट पनि २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताए ।
काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताए । औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उनको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उनले बताए ।
FACEBOOK COMMENTS