काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वतको तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको छ ।
सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजीवन सदस्य सावन्तजंग सिजापति तथा संस्थाको प्रतिनिधिहरू रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई हस्तान्तण गरिएको छ ।
सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि क्रियाशील छ । संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि गरिएको हो ।
यो संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुराहरू तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ ।
यसका अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पुनर्व्यवस्थापनसम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS