काठमाडौं । “साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशिलताको विकास” भन्ने नाराका साथ स्थापित साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
“यस वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस शेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित भएको छ“ साधारणसभापछि जारी प्रेसविज्ञप्तिमा भनिएको छ । आगामी दिनहरुमा अझै उच्च प्रतिफल दिने गरी वित्तीय संस्थाको व्यवसाय अघि बढाउन वित्तीय संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध रहेका छन् । आवद्ध सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आ.व २०८१/८२ को अन्त्यसम्ममा कुल ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुरÞ्याउन सफल भएको छ । जसमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्यको ४६.८७ प्रतिशत रहेकोमा महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ।
आ.व २०८१/८२ मा यस वित्तीय संस्थाको जारी र चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ । प्रति शेयर आम्दानी २०.२९, प्रति शेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीले जानकारी दिए । उनले भने, “वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरुलाई २०८२ आषाढसम्म २३ अर्ब १ करोड ८४ लाख लगानी र २४ अर्ब ८४ करोड ८५ लाख ऋण असुल गरेको छ भने लगानीमा रही रहेको ऋण ३५ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको छ ।“
यस वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत २०८१/८२ को अन्त्यसम्म कुल १ लाख ६९ हजार ५०० किसानहरुलाई १८ अर्ब ३८ करोड रुपैयाँ मासु तथा दुग्धजन्य पशुपालन र १७ हजार ५०० किसानहरुलाई २ अर्ब २२ करोड ६० लाख रुपैयाँ तरकारी खेती कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो । जसमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह भएको छ ।

सो रकमबाट किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाईजस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै ७ अर्बको हाराहारीमा र हालसम्म ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए ।

FACEBOOK COMMENTS