काठमाडौँ । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ ।
आर्थिक वर्ष २०७९र८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।
टोखाले आव २०७९र८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माणसमेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२ दशमलव १५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ ।
यस्तै, ब्लक विच्छ्याउने काम ३ दशमलव २९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य पाँच दशमलव ११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत एक सय ३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ ।
उपप्रमुख तामाङले टोखाले खेलकुद क्षेत्रको विकासका लागि अन्तर विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।
दीर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, ६० वर्ष माथिका २ हजार एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सो नगरपालिकाले जनाएको छ । टोखाले नगरवासी बिरामीलाई निःशुल्क रगतको व्यवस्था समेत गरेको छ ।
टोखाले नगरपालिका र वडामा नगद राजस्व क्यूआर कोर्डमार्फत भुक्तानी सुरुआत गरेको उपप्रमुख तामाङले बताए । टोखाले आव २०७९र८० को वार्षिक लक्ष्यको ९४ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS