काठमाडौं । नेपालका लागि एसएमएल महिन्द्रा कमर्शियल सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले सुनसरीको इटहरीमा आयोजना गरेको चारदिने ‘एसएमएल महिन्द्रा फ्री सर्भिस क्याम्प’ सफलतापूर्वक सम्पन्न गरेको छ।
जेठ ३१ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पबाट १०० भन्दा बढी एसएमएल महिन्द्राका बस, ट्रक तथा अन्य व्यावसायिक सवारीसाधन लाभान्वित भएका छन्।
ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको क्याम्पको उद्घाटन प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले गरेका थिए। कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकल्सका हेड–सेल्स एन्ड अफ्टर सेल्स सञ्जय खड्का, एसएमएल महिन्द्रा नेपालका सर्भिस हेड मनोज सी. सैनी, कम्पनीका इन्जिनियर तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो।
क्याम्पमा सहभागी ग्राहकलाई नि:शुल्क सवारी परीक्षण, प्राविधिक परामर्श तथा आकर्षक छुट सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ। श्रम शुल्कमा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पाट्र्समा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो। साथै सहभागी ग्राहकलाई विशेष उपहारसमेत वितरण गरिएको थियो।
क्याम्पको अर्को मुख्य आकर्षण आधुनिकप्रविधिबारे जनचेतना अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ। सर्भिस हेड मनोज सी. सैनीको नेतृत्वमा इटहरी, झापा र विराटनगरका विभिन्न शैक्षिक संस्था तथा अटोमोबाइल वर्कसपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा अटोमोबाइलका विद्यार्थी, प्रशिक्षक तथा स्थानीय मेकानिकलाई प्रविधि, इन्धन दक्षता, वातावरणीय लाभ र आधुनिक डायग्नोस्टिक प्रणालीबारे जानकारी गराइएको थियो।

समापन कार्यक्रममा बोल्दै लक्ष्मी कमर्शियल भेहिकल्सका हेड–सेल्स एन्ड अफ्टर सेल्स सञ्जय खड्काले ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता रहेको बताए। उनले सवारी बिक्रीमा मात्र सीमित नभई आधुनिक प्रविधिबारे जनचेतना अभिवृद्धि र ग्राहकलाई दीर्घकालीन सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

कम्पनीले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता नि:शुल्क सर्भिस क्याम्प, प्राविधिक तालिम तथा ग्राहककेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।