काठमाडौँ । अमेरिकाको पूर्वी तटमा एउटा भिषण हिमपात परेपछि जनजीवन अस्तव्यस्त भएको छ । यसले लाखौं मानिसहरूलाई असर गरेको छ र हजारौं उडानहरू रद्द गर्न बाध्य पारेको छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउ परेको छ, जबकि न्यूयोर्क शहरको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको छ ।
पछिल्लो विवरणअनुसार सबैभन्दा बढी हिमपात रोड आइल्याण्ड राज्यको प्रोभिडेन्स क्षेत्रमा ३७ दशमलव ९ इन्च मापन गरिएको छ । म्यासाचुसेट्स राज्यको ह्विटम्यानमा ३३ दशमलव ७ इन्च हिमपात भएको छ भने न्युयोर्क राज्यको सेन्ट्रल इस्लिपमा ३१ इन्च हिउँ जमेको छ।
कनेक्टिकटको नर्थ स्टोनिङटनमा ३० दशमलव ८ इन्च र न्यु जर्सीको लिन्डहस्र्टमा ३० दशमलव ७ इन्च हिमपात भएको जनाइएको छ । त्यसैगरी, वेस्ट भर्जिनियाको पोइन्ट माउन्टेनमा २२ दशमलव ५ इन्च, पेन्सिलभेनियाको लोअर मेकफिल्डमा २२ दशमलव १ इन्च तथा डेलावेयरको लङ नेक क्षेत्रमा २१ इन्च हिमपात भएको छ ।
मेरील्याण्डको बिशपभिलमा १६ इन्च र भर्जिनियाको क्याम्डेन–अन–गाउलीमा १५ इन्च हिउँ परेको छ। मेन राज्यको गुडविन्स मिल्समा १३ इन्च, न्यु ह्याम्पशायरको डोभरमा ९ दशमलव ५ इन्च तथा भर्मन्टको गिलफोर्डमा ४ दशमलव २ इन्च हिमपात मापन गरिएको छ।

न्यूयोर्कमा यात्रा लगभग असम्भव रहेको चेतावनी दिइएको छ । पूर्वी तटमा रहेका ६,००,००० भन्दा बढी घर र व्यवसायहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको रिपोर्ट गरिएको छ, जसमा न्यू जर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार, अमेरिका भित्र र अमेरिका जाने ५ हजार ७०६ भन्दा बढी उडानहरू रद्द गरिएका छन् ।

बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार ९२ प्रतिशत प्रस्थान उडानहरू रद्द गरिएको छ । हिउँले मंगलबार पनि यस क्षेत्रमा प्रभाव पार्न जारी रहने बताइएको छ । अमेरिका जाने र आउने २ हजारभन्दा बढी उडानहरू रद्द हुने अपेक्षा गरिएको छ, जसमा बोस्टन र न्यूयोर्क विमानस्थलहरू सबैभन्दा बढी प्रभावित छन् ।

FACEBOOK COMMENTS