काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी गरेको छ । यसका लागि सरकारले कानुनी प्रक्रियालाई छिटो बनाउन काम गरिरहेको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित हुने र उच्च विद्यालयहरूमा मोबाइल फोन पनि निषेधित हुने स्पष्ट गरेका छन् । म्याक्रोनका अनुसार, यो नियम बालबालिका, अभिभावक र शिक्षकहरूका लागि हुनेछ ।
फ्रान्सको यो निर्णय यस्तो समयमा आएको छ जब पश्चिमी देशहरूमा बालबालिकालाई सामाजिक सञ्जालको हानिबाट जोगाउन कडा कानून बनाउन प्रयासहरू तीव्र गतिमा भइरहेका छन् । गत वर्ष डिसेम्बरमा, अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा खाता खोल्न निषेध गर्ने ऐतिहासिक कानून पारित गरेको थियो ।
म्याक्रोनको घोषणाको केही दिन अघि, बेलायती सरकारले पनि १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने लगायत अनलाइन बालबालिकालाई सुरक्षा दिन धेरै विकल्पहरू विचार गरिरहेको बताएको थियो ।
फ्रान्समा, यो प्रस्ताव म्याक्रोनको पुनर्जागरण पार्टीकी सदस्य लौरे मिलरको नेतृत्वमा कार्यान्वयन गर्न लागिएको छ । उनले हाल, सामाजिक सञ्जाल प्लेटफर्महरूमा कुनै उचित उमेर प्रमाणीकरण नभएको बताउदै अब यसलाई व्यवस्थित गर्ने समय आएको बताएकी छन् ।

सरकारले युरोपेली डिजिटल सेवा ऐन अन्तर्गत प्लेटफर्महरूमा उमेर प्रमाणीकरणलाई कडाइका साथ अनिवार्य गर्न चाहेको छ । यसको अर्थ प्रयोगकर्ताहरूले आफू १५ वर्षभन्दा माथिको भएको प्रमाणित गर्नुपर्नेछ । लौरे मिलरले नियमहरू उल्लङ्घन गर्ने तरिकाहरू सधैं हुने छन्, तर बालबालिकाहरूलाई अनलाइन हानिबाट जोगाउन कम्तिमा ठोस कदम चाल्नुपर्ने बताएकी छन् ।

अष्ट्रेलियामा यस्तो प्रतिबन्धको महत्त्वपूर्ण र सकारात्मक प्रभाव परेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले केहिदिन अघि १६ वर्ष मुनिका बालबालिकाहरूसँग सम्बन्धित लगभग ४७ लाख सामाजिक सञ्जाल खाताहरू बन्द वा मेटाइएको बताएका थिए ।

अस्ट्रेलिया सरकारले चालेको यो कदमले सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्ने विषयमा धेरै देशहरुले कानुन बनाउने तयारी गरेका छन् । अष्ट्रेलियामा यो कानूनको प्रमुख कारण २०१४ मा प्रकाशित अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हिटको पुस्तक ‘द एन्क्सियस जेनेरेसन’ हो भन्ने विश्वास गरिन्छ ।

यस पुस्तकले सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यलाई हानि पुर्याइरहेको पहिलो पटक स्पष्ट रुपमा तर्क गरेको थियो । पुस्तक पढेपछि, दक्षिण अष्ट्रेलियाका मुख्यमन्त्रीकी श्रीमतीले आफ्नो पतिलाई यसको बारेमा केही गर्नुपर्ने बताएकी थिइन् । यसपछि, राज्य स्तरमा कानूनको मस्यौदा तयार पारिएको थियो, जुन पछि राष्ट्रिय अभियानमा विकसित भएको थियो ।

अस्ट्रेलिया पछि इजिप्टले पनि बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानुन लागु गर्ने घोषणा गरेको छ ।
FACEBOOK COMMENTS