काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ ।
योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो ।
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ ।
अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।
२०७९ फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ ।
त्यसबाहेकका स्थानहरुमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ ।
आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ
FACEBOOK COMMENTS