काठमाडौं । सामाजिक सुरक्षा कोषले वेबसाइटमार्फत गलत सूचना प्रवाह गर्दा योगदानकर्ताले दुःख पाउने गरेको पाइएको छ । कोषले आफ्नो वेबसाइटमा योगदानकर्ताले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार गराउँदा पनि औषधि उपचार योजनाअन्तर्गतको उपचार खर्च बेहोर्ने उल्लेख गरेको छ ।
तर, उसले ट्रमा सेन्टरसँग योगदानकर्तालाई उपचार सेवा दिने विषयमा सम्झौता नै नगरेको पाइएको छ । यसले गर्दा त्यहाँ गएर उपचार गराउने योगदानकर्ताले दुःख पाउने गरेका छन् ।
कोषले देशभरका १७ ओटा अस्पतालसँग सम्झौता गरेर आफ्ना योगदानकर्ताले अस्पतालको ओपीडी सेवाअन्तर्गत उपचार गर्दा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म खर्चमा अस्पतालबाट ८० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
विगत ३ वर्षदेखि सामाजिक सुरक्षा कोषमा निरन्तर योगदान गर्दै आएका एकजना योगदानकर्ता सोमवार उपचारका लागि ट्रमा सेन्टर पुगे । उनी कोषले वेबसाइटमा राखेको जानकारीकै आधारमा ट्रमा सेन्टर पुगेका थिए । उनले ट्रमा सेन्टरमा औषधि उपचारबापत पाउने सुविधाबारे सोध्दा अस्पतालका कर्मचारीले त्यसबारे आफू अनभिज्ञ रहेको बताए ।
त्यसपछि उनले अस्पतालका मेडिकल रेकर्डर निरीक्षक तथा सूचना अधिकारी अर्जुनप्रसाद भेटुवाललाई भेटेर बुझे । भेटुवालले पनि ट्रमा सेन्टरले कोषसँग त्यस्तो सम्झौता नगरेकाले सुविधा दिन नसकिने बताएको ती योगदानकर्ताको भनाइ छ ।
उक्त घटनाबारे ट्रमा सेन्टरका मेडिकल रेकर्डर निरीक्षक भेटुवालसँग जानकारी माग्दा उनले आफूहरूले हालसम्म कोषसँग त्यस्तो सम्झौता नगरेको बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS