काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु मालपोत कार्यालयका तत्कालीन प्रमुख स्वर्गीय केशवबहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएर हानि पुर्याएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा साविक चौरीखर्क गाउँ विकास समिति–८ स्थित कित्ता नम्बर ४१८ र ४१९ को सरकारी जग्गा गलत विवरण तयार गरी व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । उक्त जग्गा फिल्डबुकमा सरकारको नाममा रहेको उल्लेख भए पनि मिलेमतोमा व्यक्तिको नाममा श्रेस्ता कायम गरिएको थियो ।
पछि उक्त जग्गामध्ये केही भाग किनबेचसमेत गरिएको र बाँकी जग्गा पनि सोही व्यक्तिको नाममा कायम राखिएको अनुसन्धानबाट खुलेको छ । आयोगले यस कार्यबाट सरकारलाई करिब १९ लाख ९० हजार रुपैयाँभन्दा बढी नोक्सानी पुगेको ठहर गरेको छ ।
उक्त कार्यमा संलग्नहरूले गैरकानुनी लाभ लिने र सरकारलाई हानि पुर्याउने उद्देश्यले काम गरेको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
