तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक
कर्पोरट खबर
10:01 pm, शुक्रबार, साउन १६, २०८२
काठमाडौं । गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताए ।
उनले भने, “अहिले समयअनुसारको गीत बनेको छ । पछिल्लो समय आइरहेको गीतका शैली र शब्दहरू समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिकता भने कायम राख्नुपर्छ, यो गीतले आफ्नो मौलिकपनसहित दर्शकको माया पाउनेमा विश्वस्त छु ।”
कलाकार केसीले गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले अभिनेत्री निरौलासँग गीतमा काम गर्न पाउँदा खुसी लागेको बताउदै श्रव्यदृश्य छायाङ्कन उत्कृष्ट बनेको बताए । “दीपा बहिनीसँग काम गर्दा मलाई सधैँ ऊर्जा प्राप्त हुन्छ । हामीले गीतको भावलाई श्रव्यदृश्यमा प्रस्तुत गर्न सक्दो मेहनत गरेका छौँ । यो रमाइलो माहोललाई व्यक्त गर्ने गीत बनेको छ”, उनले भने ।
अभिनेत्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार भएको बताए । उक्त गीतमा गायिका थापासँगै मनोजसिंह धामीको स्वर रहेको छ । गीतमा धामीले शब्द र सङ्गीत दिएका छन् । प्रकाश भट्टले निर्देशन गर्नुभएको उक्त गीतको श्रव्यदृश्यलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
FACEBOOK COMMENTS