काठमाडौँ । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दी चिम खोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगर फाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसी भैलो संरक्षणमा जुटेका छन् ।
पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसै गरी बेनी नगरपालिका २ बगर फाँटका अग्रजले मौलिक देउसी भैलोको महत्त्व र भाव नयाँ पुस्तालाई हस्तान्तरण गर्न देउसी भैलोको आयोजना गरेर संरक्षणमा जुटेका हुन् ।
मौलिक थाली नाचको उद्गमस्थल चिम खोला, मगर संस्कृतिको स्थल मानिने बेगखोला, शेरपुजा र पाइजाको पुर्ख्यौली गाउँ पाखापानी र छन्त्याल समुदायको खुला सङ्ग्रहालय मानिने ठाडाखानीका पाको पुस्ताले लोप हुँदै गएको सोरठी संस्कृतिलाई बचाउन नयाँ पुस्ताका बालबालिका र युवायुवतीलाई प्रशिक्षण दिन सुरु गरेको स्थानीय ७६ वर्षिय टेकवहादुर छन्त्यालले बताए।
उनले भने, “अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ ।” सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । छन्त्यालका अनुसार सोरठी गीत प्रदर्शनलाई विभिन्न ठाउँबाट माग आउने गरेको छ । गाउँमा भूमे सोरठी संरक्षण समिति नामको संस्था नै गठन गरेर सोरठी संरक्षणमा जुटेको बेगखोलाका दलबहादुर पुनले बताए । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको व्यवस्था गरेको छ ।
कलाकारमा गाउने समूह, मादले, मारुनी आदि आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघाउँछन् ।
मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा सोरठी प्रस्तुत गरिन्छ । सोरठी गीत विशेष गरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता इश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । तर, पछिल्लो समय यसको उचित प्रवर्द्धन हुन नसकेको संस्कृतिकर्मीहरू बताउँछन् । क्षत्री र ब्राह्मण समुदायको बाहुल्य बसोबास रहेको बगर फाँटमा पनि स्थानीय दुर्गाबहादुर थापा, पार्वती शर्मा लगायतको ज्येष्ठ नागरिकको पहलमा मौलिक देउसी भैलो संरक्षण अभियान थालिएको छ ।
FACEBOOK COMMENTS