काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ ।
हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ । उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् ।
एडम्सका मार्गदर्शक ब्रेन्डिन जोन्सनले परिवारका तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् । उनका अनुसार विश्वकपबाट फर्किएलगत्तै यस्तो दुःखद समाचारले सबैलाई स्तब्ध बनाएको छ ।
उनले विश्वकपपछि क्लबमा फर्किएर अफ्रिकी क्लब प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित उनले तयारी गरिरहेको बेला अचानक मृत्यु भएको बताइएको छ । एडम्सले स्टेलेनबोस फुटबल क्लबबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै दक्षिण अफ्रिकी फुटबलमा पहिचान बनाएका थिए । त्यसपछि उनी मामेलोडी सन्डाउन्समा आबद्ध भएका थिए र राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए ।
हालै सम्पन्न विश्वकपमा उनले गरेको प्रदर्शनले उनलाई दक्षिण अफ्रिकी फुटबलका उज्ज्वल भविष्यका रूपमा स्थापित गरेको थियो ।
एडम्सको असामयिक निधनप्रति दक्षिण अफ्रिकी फुटबल समुदाय, मामेलोडी सन्डाउन्स क्लब तथा राष्ट्रिय टोलीले गहिरो दुःख व्यक्त गरेका छन् । उनको निधनसँग सम्बन्धित थप विवरण सार्वजनिक भएपछि जानकारी आउने अपेक्षा गरिएको छ ।