काठमाडौं । युरोपभरि तीव्र गर्मीले सताउँदै गर्दा स्पेनसहित धेरैजसो देशमा रेकर्ड तोड्ने तापक्रम मापन गरिएको छ ।
गत जुन २९ मा स्पेनका विभिन्न क्षेत्रमा ४६ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि सन् १९६५ मा सेभिल क्षेत्रमा ४५ दशमलव २ डिग्री तापक्रम रेकर्ड भएको थियो । स्पेनको मौसम एजेन्सीका अनुसार शनिबार एल ग्रानाडो क्षेत्रमा ४६ डिग्री तापक्रम मापन गरिएको थियाे ।
स्पेनसँगै फ्रान्स, पोर्चुगल, इटाली, क्रोएसिया, अस्ट्रिया, बेल्जियम, बोस्निया हर्जेगोभिना, हंगेरी, सर्बिया, स्लोभेनिया र स्विजरल्याण्डमा समेत गर्मीको लहर चर्किन सक्ने अनुमान गरिएको छ ।
पोर्चुगलको मोरा क्षेत्रमा आइतबार ४६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम मापन भई यो वर्षकै सबैभन्दा उच्च तापक्रम भएको छ । यस्तै, इटाली र क्रोएसियामा गर्मीको उच्च खतरा रहने भएकाले रातो सतर्कता जारी गरिएको छ । पहिलो पटक फ्रान्सको ८८ प्रतिशत भूभागमा पनि ओरेन्ज अलर्ट जारी गरिएको छ ।
तीव्र गर्मीका कारण जनस्वास्थ्यमा असर देखिन थालेको छ । स्पेनको बार्सिलोनामा शनिबार एक महिला सरसफाइकर्मीको गर्मीका कारण मृत्यु भएको छ भने इटालीमा विशेष गरी वृद्धवृद्धा, क्यान्सरका बिरामी र घरबारविहीन व्यक्तिहरूमा गर्मी स्ट्रोकका घटना बढेका छन् । रोम सहरले ७० वर्षभन्दा माथिका नागरिकलाई निशुल्क स्विमिङ पुलको सुविधा उपलब्ध गराएको छ ।
पश्चिमी बाल्कन क्षेत्रमा पनि तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । सर्बियामा १९औं शताब्दीबाट तापक्रम मापन सुरु भएयता अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । स्लोभेनियामा पनि जुन महिनामा शनिबारकै दिन सबैभन्दा उच्च तापक्रम मापन भएको छ भने उत्तरी म्यासेडोनियामा जुन २७ मा तापक्रम ४२ डिग्री पुगेको थियो ।
इटालीका २७ मध्ये २१ सहरलाई उच्च सतर्कतामा राखिएको छ । अस्पतालमा गर्मीका कारण भर्ना हुने बिरामीको संख्या करिब २० प्रतिशतले बढेको छ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म अत्यावश्यक बाहेक घरबाहिर नजान विज्ञहरूले सुझाव दिएका छन् । पोर्चुगलका १८ मध्ये ७ क्षेत्रमा पनि रातो सतर्कता जारी छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस्तो अत्यधिक गर्मी अब असामान्य नभएर जलवायु परिवर्तनको स्पष्ट संकेत भएको बताएका छन् ।
गर्मीका कारण विश्वभर वार्षिक करिब ५ लाख मानिसको मृत्यु हुने अनुमान छ । वृद्धवृद्धा र दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले चिकित्सकहरूले प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र कमजोर तथा वृद्ध छिमेकीहरूको हेरचाह गर्न सुझाव दिएका छन् । अनुसन्धानकर्ताहरूले यस शताब्दीको अन्त्यसम्म गर्मीका कारण युरोपमा वार्षिक ८० हजारसम्म मृत्यु हुन सक्ने चेतावनीसमेत दिएका छन् ।
FACEBOOK COMMENTS