काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
अदालतले दिगम्बर झा, पुरुषोत्तम खनाल, एक जना मलेसियन नागरिक र अर्का एक कानूनी व्यक्तिसहित ४ जनालाई जनही ५ करोड ८० लाखका दरले बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ । झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने छ । चार जनालाई २३ करोड २० लाख जरिवाना तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाएको थियो ।
FACEBOOK COMMENTS