काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकार पक्षको मागलाई अस्वीकार गरेको हाे ।
अदालतले पौडेललाई शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको हाे । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयान र थुनछेक बहस सकिएपछि विशेष अदालतका सदस्य न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले साधारण तारेखमा राख्न आदेश दिएको हो ।
व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण बनाएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले मतियारका रूपमा पौडेलसहित ६ जना र १० प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पौडेलको हकमा २० करोड ९० लाख बिगो र अन्य बैंक मौज्दात समेत जफतको मागदाबी गरिएको छ ।