झापा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौं झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् ।
उनीहरूले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौं स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरूले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारेका छन् ।
त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो ।
उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । एनएसजेएफ झापाका संस्थापक अध्यक्ष समदर्शीलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।
त्यस्तै, स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।
२०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए ।
उनीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे । २०७३ सालबाट सुरु भएको झापा स्पोर्ट्स अवार्डको यो पाँचौँ संस्करण हो ।
यसपटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो ।
FACEBOOK COMMENTS