काठमाडौँ । टी–२० विश्वकपको सहआयोजक राष्ट्र श्रीलंकाको प्रतियोगिता यात्रा समाप्त भएको छ ।
अन्तिम खेलमा पाकिस्तानसँग पाँच रनले पराजित भएपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो । उक्त जितले पाकिस्तानलाई पनि कुनै फाइदा नपुगेको र टोली स्वयं पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताबाट बाहिरिएलगत्तै श्रीलंका पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक सनथ जयसूर्या ले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्झौता जुन २०२६ सम्म रहे पनि त्यसअघि नै पद छाड्ने निर्णय गर्ने बताएका हुन् ।
उनले श्रीलंका क्रिकेटसँग छलफल गरेर औपचारिक रूपमा राजीनामा दिने तयारी रहेको जानकारी दिए । आगामी मार्च १३ देखि शारजाहमा अफगानिस्तानविरुद्ध हुने टी–२० र एकदिवसीय सिरिजसम्म भने उनी टोलीसँग रहन सक्ने सम्भावना रहेको बताइएको छ ।
जयसूर्याले सन् २०२४ को टी–२० विश्वकपपछि श्रीलंकाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको सुरुआती कार्यकालमा टोलीले उल्लेखनीय सफलता हासिल गरेको थियो । श्रीलंकाले २७ वर्षपछि भारतविरुद्ध एकदिवसीय सिरिज जित्नुका साथै घरेलु मैदानमा न्यूजिल्याण्डलाई टेस्ट सिरिजमा २–० ले पराजित गरेको थियो।

तर पछिल्लो समय टोलीको प्रदर्शन कमजोर बन्दै गएको छ । घरेलु मैदानमा भएको टी–२० विश्वकपमा लगातार चार खेल हार्दै श्रीलंका बाहिरिएको थियो भने एसिया कप र अन्य अन्तर्राष्ट्रिय सिरिजमा पनि अपेक्षित नतिजा आउन सकेको थिएन । यसअघि जयसूर्याले दुई पटक श्रीलंकाको मुख्य छनोटकर्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

FACEBOOK COMMENTS