काठमाडौं । नेपालसमेत सहभागी हुने एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना बढेको छ ।
पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अब श्रीलंकामा सर्ने दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्ना खेलाडी पाकिस्तान नपठाउने भएपछि एसिया कपको आयोजना अन्योलमा पर्दै आएको छ ।
पाकिस्तानले आफ्नै देशमा आयोजना हुनुपर्ने अडान लिइरहेको छ भने भारतले मानेको छैन ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले भारतप्रति पक्षधरता देखाएपछि पाकिस्तानमा आयोजना नहुने सम्भावना बढेको हो । बीसीसीआईका सचिव जय शाह नै एसीसीका अध्यक्ष रहेका छन् ।
बीसीसीआईको अडानपछि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले ‘हाइब्रिड’ मोडलको प्रस्ताव गरेका थिए ।
जसअनुसार भारतले खेल्ने म्याचहरु यूएईमा र अन्य म्याचहरु पाकिस्तानमै गर्ने उनको आग्रह थियो ।
तर, एसीसी र बीसीसीआईले त्यो प्रस्ताव पनि अस्वीकार गरेपछि पाकिस्तान अप्ठेरोमा परेको छ ।
आफ्नो आयोजना अधिकार खोसिए पाकिस्तान एकदिवसीय विश्वकप खेल्न भारत नजाने चेतावनी पाकिस्तानी बोर्ड अध्यक्षले दिएका छन् । तर, उनको चेतावनीलाई एसीसीले कुनै महत्व दिएको छैन ।
यसैबीच पाकिस्तानको आयोजना अधिकार खोसेर श्रीलंकालाई दिने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
एसिया कप आयोजनाका लागि श्रीलंकासँगै बंगलादेश र यूएई पनि इच्छुक थिए । तिनीहरुमध्ये श्रीलंकाको सम्भावना बढी रहेको औंल्याइएको छ । यद्यपि यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिइएको छैन ।
FACEBOOK COMMENTS