काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी एसआरएको नयाँ लक्जरी विद्युतीय भ्यान सार्वजनिक भएको छ। एसआरएमको नेपालका लागि आधिकारिक बिक्रेता पुजा कन्स्ट्रक्सन नेपाल प्रालिले हालै उक्त विलासी भ्यान सार्वजनिक गरेको हो ।
एसआरएम ब्राण्डको ७ सिट क्षमताको लक्जरी भ्यानको आधिकारिक बिक्री सुरू भएको छ। हाल ११ सिट क्षमताको माइक्रो भ्यानकै रूपमा बिक्री हुँदै आएको एसआरएनलाई कम्पनीले सिट घटाइ फराकिलो र विलासी सुविधा थपेर ७ सिट क्षमताको लक्जरी भ्यान ल्याएको हो। यो भ्यान विशेषगरी पर्यटक बोक्नका लागि उपयोगी हुनेछ ।
पुजा कन्स्ट्रक्सनले पर्यटन क्षेत्रलाई मध्येनजर गर्दै ल्याएको नयाँ भ्यानमा अगाडि चालकसहित दुई सिट, दोस्रो लहरमा पनि दुई वटा क्याप्टेन सिट र पछाडिको लहरमा ३ जना बस्न मिल्ने गरी सिटिङ मिलाइएको छ ।
उक्त नयाँ भ्यानमा १५ सय लिटरको ठूलो बुट स्पेस उपलब्ध रहेको छ । सात जना पर्यटकको ७ वटा सुटकेस सजिलै राखेर हिँड्न मिल्ने कम्पनीको भनाइ छ। आवश्यकताअनुसार यात्रु कम भएको खण्डमा तेस्रो लहर फोल्ड गरेर बुट स्पेस बढाउन सकिने छ ।
पुजा कन्ट्रक्सनले लक्जरी भ्यानका रुपमा ल्याएको यसको मूल्य ३९ लाख रुपैयाँ तोकेर सार्वजनिक भएको हो। यो भ्यानलाई लक्जरियस बनाउन विभिन्न विशेषता र सुविधा दिइएको छ। सुरक्षाको लागि अगाडि दुई एयरब्याग, सबै सिटमा सिटबेल्ट, हिल एसिस्ट कन्ट्रोल, ईबीडीसहितको एबीएस, फ्रन्ट भ्यु क्यामेरा र रियर भ्यु क्यामेरा रहेको छ।
त्यस्तै चाइल्ड सेफ्टी लक, हेडल्याम्प रेन्ज एड्जस्ट जस्ता विशेषताले यो भ्यालाई सुरक्षित र विलासी बनाएको छ।
किलेस इन्ट्री, डिजिटल इन्फर्मेसन डिस्प्ले, १४ इन्चको अलोय ह्वील, १ सय ८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ। एसआरएमको यो भ्यानमा अगाडि म्याकर्फेसनको स्ट्रट र पछाडि सिक्स लिफ स्प्रिङ दिइएको छ। इलेक्ट्रिक पावर स्टेरिङ रहेको यो भ्यानको टर्निङ रेडियस ५.५ मिटर रहेको छ।

७ सिट क्षमताको एसआरएमको यो भ्यानको लम्बाइ ४४ सय ९५ एमएम, चौडाइ १६ सय ८० एमएम र उचाइ १९ सय ९० एमएम छ। यसमा २९ सय २५ एमएम लामो ह्वीलबेस छ भने प्योर ईभी प्लेटफर्ममा बनेकाले ब्याट्री फ्लोरमा राखिएको छ।
ब्याट्री र मोटर
एसआरएमको ७ सिटर लक्जरी भ्यानमा सीएटीएलले बनाएको ४१.८६ किलोवाट आवरको लिथियम आयोन फस्फेस्ट ब्याट्री रहेको छ। एक पटकको फुल चार्जमा यो भ्यानले ३ सय किलोमिट एनइडीसी रेन्ज दाबी गरिएको छ। यसले रियल वल्र्डमा २ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।

एसआरएमले यो भ्यानमा ५० किलोवाटको मोटर दिएको छ। पिक टर्क भने २ सय २० एनएम रहेको छ। एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने भ्यानलाई आफ्नो घर वा ग्यारेजमा एसी चार्जरले ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ। डीसी चार्जरको प्रयोग गर्दा यो भ्यान ८० प्रतिशतसम्म चार्ज गर्न ४५ मिनेटमात्रै लाग्ने कम्पनीको भनाइ छ।
पुजा कन्स्ट्रक्सनले विगत केही वर्षदेखि नै एसआरएम र जोयलङका विद्युतीय भ्यान तथा माइक्रोबस बिक्री गर्दै आएकाले सर्भिस, स्पेयर पार्टस तथा चार्जिङ नेटवर्कको उल्लेख्य विस्तार गरेको छ ।
पुजा कन्ट्रक्सनले देशभर ७५ स्थानमा चार्जर जडान गरिसकेको छ। त्यस्तै कम्पनीले एसआएएम र जोयलङका विद्युतीय भ्यान किनेर समयमै मर्मत गर्न नसके उपभोक्तालाई ‘पे ब्याक’ ग्यारेन्टी समेत गरेको छ। यसले उपभोक्तालाई एसआरएम र जोयलङका विद्युतीय भ्यान तथा माइक्रोबस किन्दा स्पेयर पार्टस र सर्भिस पाउने सुनिश्चितता गर्छ ।

FACEBOOK COMMENTS