काठमाडौं । प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारी (एसएसपी) ले जिल्ला प्रहरी परिसर काठमाडौंको पदभार ग्रहण गरेका छन् ।
उनले परिसरका सिनियर प्रहरी अधिकृत तथा मातहत वृत्त, प्रभागहरुका ईन्चार्जहरुसंग परिचयात्मक अन्तरक्रिया गरी आवश्यक निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको बहुआयामिक कार्यक्षेत्रभित्र हुने अपराधको प्रभावकारी रोकथाम तथा अपराधको सफल अनुसन्धानको माध्यमबाट समग्र जिल्लावासीमा शान्ति सूरक्षाको प्रत्याभूती र अनुभूती गराउन चौबिसै घण्टा कुनै कसर बाँकी नराखी क्रियाशील रहन निर्देशन दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षकको कार्यालय मात्र नभई समग्र जिल्लावासीको प्रहरी कार्यालय भएको हुनाले परिसर र मातहतको सम्पर्कमा आउने प्रत्येक व्यक्ति प्रहरीका सेवाग्राही भएको उनको भनाइ छ । सेवाग्राहीको कानुनी अपेक्षाका लागि नै प्रहरी संगठन र प्रहरी कार्यालयहरुको आवश्यकता, माग, स्थापना र बिस्तार हुदै गईरहेको बताए ।
देशको राजधानी शहर भएकोले राजनैतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, वैदेशिक, पर्यटन लगायत समग्र दृष्टीकोणबाट जिल्लामा सुदृढ एवं उत्कृष्ट सुरक्षा प्रबन्ध गर्न आफु लगायत सम्पूर्ण प्रहरी अधिकृतहरुले आगामी दिनहरुमा विशेष काम गर्नुपर्ने बताए ।
नेपाल प्रहरीको कार्ययोजना, तालुक कार्यालयसंग भएको कार्य सम्पादन सम्झौता, विभागबाट भएका परिपत्रहरुको अक्षरशः कार्यान्वयन तथा पालना गर्दै निर्दिष्ट उद्देश्यहरु तोकिए बमोजिम भन्दा पनि उच्चतम् स्तरमा हासिल गर्ने तर्फ अग्रसर रहन निर्देशन दिए ।
आगामि दिनहरुमा प्रत्येक क्रियाकलापको निश्चित सूचकहरु पहिचान, विकास तथा अबलम्बन गरी वैज्ञानिक, व्यवहारिक तथा प्रभावकारी आन्तरिक तथा बाह्य कार्य वातावरणको सृजना गरी कार्य सम्पादनका आधारमा मातहत कार्यालय तथा कर्मचारीहरुको मूल्याङ्कन गरिने बताए । उनले बढी कर्मचारीहरु पुरस्कृत हुनेतर्फ उच्च मनोबलकासाथ जागरुक, कृयाशील, रचनात्मक, संवेदनशील भई लागि पर्न समेत परिसर प्रमुखले निर्देशन दिए ।
FACEBOOK COMMENTS