काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर सर्वसाधरणमा निष्कासनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार गरिएको उक्त सम्झौतामा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
स्टार माइक्रो इन्स्योरेन्सले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । यसको प्रतिशेयर मूल्य १०० रूपैयाँ निर्धारण गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्यअनुरूप स्टार माइक्रो इन्स्योरेन्स २०७९ पुस १४ मा दर्ता भएर सञ्चालनमा आएको हो । यसले २०८० भदौ १ देखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमासम्बन्धी कारोबार गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS