काठमाडौं । लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ ।
सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ । यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य राम्रो भन्ने अर्थमा ठुलो लगानी यस क्षेत्रमा छिर्न थालेको देखिन्छ । देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सूचकहरू बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानीकर्ताको मनोबल नै हो ।
सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार पछिल्लो समय लगानीकर्ताको बजारप्रतिको विश्वास गुम्दा बजार निरन्तर ओरालो लागिरहेको थियो । सरकारले बजारमा केही सकारात्मक माहोल सिर्जना बनाउँदा बजार बुलिस ट्रेन्डमा देखिएको बताए । बजारले लामो समयदेखि खेपेको बियरिस अब बुलतर्फ जान थालेकामा नेपाल राष्ट्र बैङ्क पनि सेयर बजारप्रति थोरै लचिलो बन्दा, त्यसको प्रभाव बजारमा देखिएको उनको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लगानीयोग्य पैसा हुँदा तरलता सहज भयो जसले गर्दा बजारमा सकारात्मक माहोल सिर्जना भएको सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष फुलेल बताउँछन् ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले अर्थतन्त्र लयमा ल्याउन इँटा थप्ने काममा सहयोग पुग्न थालेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल पनि बढाउन थालेको छ । मौद्रिक नीतिले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुँदा समग्र अर्थतन्त्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।
अहिले खास गरी राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा बैङ्क दर, नीतिगत दर, कर्जाको पुनर्संरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको छ । त्यसो त मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै छ । यो अवधिमा साढे १९ सयको बिन्दुमा रहेको सेयर बजारमापक नेप्से परिसूचक पनि २२ सयको बिन्दुतर्फ लम्केर अहिले परीक्षणमा रहेको छ । कारोबार रकम पनि लामो समयपछि सात अर्ब रुपियाँ नाघेको छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजार र घरजग्गा क्षेत्रमा नीति खुकुलो बनाइएको छ । सेयर बजारमा ५० लाख रुपियाँभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । यस्तै घरजग्गामा पनि जोखिमभार १२५ प्रतिशत गरिएको छ ।
सेयर बजारमा ५० लाख रुपियाँभन्दा कमको कर्जामा यसअघि नै जोखिमभार १०० प्रतिशत कायम गरेको छ । यस्तै बैङ्किङ प्रणालीमा तरलता थुप्रिन थालेपछि राष्ट्र बैङ्कले मौद्रिक नीतिको उपकरणलाई चलाउँदा कर्जा प्रवाह बढ्न थालेको छ । राष्ट्र बैङ्कले ब्याजदर घटाउने र बजारमा अधिकतम पैसा परिचालन हुने गरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत यसअघि लिएका नीतिलाई परिमार्जन गरेको छ । विशेष गरी बैङ्क दर र नीतिगत दर घटाइँदा ब्याजदर क्रमशः घट्दै गएको छ ।
ब्याजदर क्रमशः घट्ने तथा घरजग्गा र सेयर बजार क्षेत्र पनि चलायमान हुँदै गएकाले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने देखिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS