काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् ।
सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् । उनले पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।
अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको बताए । उनले सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गरेको बताए ।
भेटमा एसोसिएसनका प्रतिनिधिहरुले हाल बजारमा गलत हल्ला फैलाइएको, शेयर बेचेर बाहिरिएका तथा पुन: बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने अफवाह फैलाइरहेकोप्रति अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गरेका थिए ।
