काठमाडौं । सरकारले सार्वजनिक गरेको २१ बुँदे पूँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले शेयर लगानीकर्ताको मनोबल बढाउँदा साताको मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ।
यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ६२ विन्दुमा पुगेको छ।
नेप्से परिसूचकमा सुधार आएसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। औसतमा ३ अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुँदै आएको बजारमा मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस क्रममा २ करोड ३ लाख कित्ता शेयर खरिद–बिक्री भएको छ।
अर्थ मन्त्रालयले सोमबार राति पूँजी बजार सुधार, लगानीकर्ताको मनोबल वृद्धि तथा बजारको दीर्घकालीन विकासलाई लक्षित गर्दै २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो। पूँजीगत लाभकर घटाउने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्ने, बजारका संरचनात्मक समस्या समाधान गर्ने तथा लगानीकर्ताका लामो समयदेखिका माग सम्बोधन गर्ने विषय समेटिएको कार्ययोजनाले बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ।
मंगलबार कारोबार भएका १३ वटै उपसमूहको सूचक हरियो बनेका छन्। सर्वाधिक वृद्धि निर्जीवन बीमा उपसमूहमा देखिएको छ। त्यसपछि जीवन बीमा, लगानीलगायतका उपसमूहका सूचकमा समेत उल्लेख्य सुधार आएको छ।

बढ्दो बजारमा रिलायन्स स्पिनिङ मिल्सको शेयरमा सर्वाधिक कारोबार भएको छ। कम्पनीले हालै नगद लाभांश प्रस्ताव गरेकाले पनि लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। यस दिन रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट, अपी पावर कम्पनी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा रहेका छन्। यी कम्पनीको शेयरमा करिब २८ करोड २९ लाख रुपैयाँदेखि ३१ करोड ५६ लाख रुपैयाँसम्मको कारोबार भएको छ।
मंगलबार सर्वाधिक वृद्धि गर्ने कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, मल्टिप्रपोज फाइनान्स, जानकी फाइनान्स तथा मिडसोलु हाइड्रोपावर कम्पनी रहेका छन्। यी कम्पनीको शेयर मूल्य ६ दशमलव ६७ प्रतिशतदेखि १४ दशमलव ९६ प्रतिशतसम्मले बढेको छ।
यस दिन एभरेस्ट बैंक र बोटलर्स नेपाल ९बालाजु० को शेयर मूल्य भने घटेको छ। ती कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतदेखि ५ दशमलव ५५ प्रतिशतसम्मको गिरावट आएको छ।