काठमाडौं सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ७ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच भएको हो। सोमबार ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।सूर्यकुन्ड हाइड्रो र होटल फरेस्ट इनको मूल्य १५ प्रतिशत, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा दोल्ती पावर रहेको छ।
उक्त कम्पनीको मूल्य ५.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२५ रूपैयाँमा झरेको छ। यसैगरी, एनआइसी एसिया ग्रोथ फण्ड २ को मूल्य ५.०३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४४ पैसामा सीमित भएको छ। सोमबार होटल फरेस्ट इनको सर्वाधिक कारोबार भएको छ।
