काठमाडौँ । आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन प्रचारको मौन अवधिलाई कडाइका साथ लागू गर्न निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिता, २०८२ कार्यान्वयन गराउन दफा ३२ अनुसार सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म सबै पक्षले आचारसंहितामा तोकिएका नियम कडाइका साथ पालना गर्नुपर्नेछ र विशेष गरी दफा १७ र दफा १८ मा उल्लेखित मौन अवधिसम्बन्धी प्रावधानको जिल्लास्तरमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ ।
आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही गर्न भनिएको छ ।
प्रचारप्रसार निषेध अवधिमा कानुनले रोक लगाएका काम नगर्न र नगराउन आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।

FACEBOOK COMMENTS