काठमाडौं । भ्रष्टाचार, कुशासन र अनियमितताविरुद्ध भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको नेतृत्वकर्ताहरू सुधन गुरुङ र रक्षा बम भएको खुलेको छ ।
हालै बाहिरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार भदौ २३ र २४ गतेको घटनाका योजनाकार कोही नभए पनि आन्दोलनको नेतृत्वकर्ता हामी नेपालका सुधन गुरुङ र रक्षा बम रहेको खुलासा भएको हो ।
उक्त आन्दोलनमा संलग्न रहेको ऋषि थापाले आयोगलाई दिएको लिखत बयानमा उक्त कुरा उल्लेख गरिएको छ । ‘भदौ २३ र २४ गतेको घटनाका योजनाकार कोही थिएनन्, नेपो बेबीविरुद्धको आक्रोश, देशमा व्याप्त भ्रष्टाचारको कारणले गर्दा स्वत:स्फूर्त रूपमा जेन–जी युवा पुस्ताद्वारा गरिएको आन्दोलन थियो,’ आन्दोलनकारी थापाले भनेका छन्, ‘नेतृत्वकर्ताहरूको रूपमा हामी नेपालका सुधन गुरुङको ग्रुप र रक्षा बमको ग्रुप मुख्यरूपमा थिए । अन्य जेन–जी ग्रुपहरू आन्दोलनपछि खडा भएका हुन् ।’
भदौ २३ र २४ को आन्दोलनको नेतृत्वकर्ता कोही नभएको र स्वत:स्फूर्त भएको भनिदै आएकामा कार्की आयोगको प्रतिवेदनमा गुरुङ र बमको नाम उल्लेख भएको हो । उनीहरूमध्ये सुधन गुरुङ सांसद बनिसकेका छन् । आज मात्रै उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । रक्षा बम सडकबाटै आफ्ना एजेण्डाहरू स्थापित गर्ने प्रयासमा छिन् ।
आन्दोलनकारी थापाका अनुसार टीओबी लेखिएका ज्याकेट लगाएर आएकाहरूले आन्दोलनमा घुसपैठ गरी थप उत्तेजित बनाएका थिए ।

FACEBOOK COMMENTS