नेपालको सहरकारी क्षेत्रका अगुवा को हुन् भनेर कसैले जिज्ञासा राख्यो भने सीबी लामाको नाम अग्रपङ्क्तिमा आउँछ । नेपालमा भर्खरै सहकारीको विकास हुँदै गर्दा वि.सं. २०५२ सालमा कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड (सहकारी) खोलेर सहकारी र सहकारी क्षेत्रको विकासका लागि सफल व्यक्तिका रूपमा चिनिएका व्यक्तित्व हुन् उनी ।
लामा लामो समयको संघर्षपछि सफल सहकारीकर्मीका रूपमा उदाएका थिए । उनले सहकारीबीच अग्रस्थानमा रहेको कान्तिपुर सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेड सञ्चालनमा ल्याएका थिए । उनको यात्रा सहकारीमा मात्र थिएन पशुपति सेभिङ हुँदै पशुपति विकास बैंक, कान्तिपुर अस्पताल हुँदै कलेज, रिसोर्टसम्म फैलिएको छ । पछिल्लो समय नेपाली कांग्रेस काभ्रेका नेताका रूपमा समेत पहिचान बनाएका उनै सीबी लामालाई हिजो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, सहकारीका अगुवामा पर्ने अर्को नाम हो इच्छाइच्छाराज तामाङ । उनले सिभिल सहकारीबाट सुरू गरेको यात्रा सिभिल होम, सिभिल हाउजिङ, सिभिल बैंक हुँदै विभिन्न व्यवसायसम्म पुगेको थियो । प्रतिनिधि सभाका सांसद समेत बनिसकेका तामाङ हाल जेलजीवन बिताइरहेका छन् ।
यसैगरी सहकारी क्षेत्रका अगुवामा पर्ने अर्को चर्चित नाम हो सुधीर बस्नेत । उनले ओरियन्टल सहकारी हुँदै ओरियन्टल हाउजिङ, कोहिनुर हिलल (हाउजिङ), आयुषा बिल्डर्सलगायत आठवटा कम्पनी सञ्चालन गरेका थिए । उनी पनि पक्राउ परेका थिए । दुई वर्षको जेल सजाय काटेर हाल उनी थुनामुक्त छन् ।
सहकारीमा आकर्षण
प्रजातन्त्रको स्थापनापश्चात् राज्यले उदार अर्थतन्त्रको नीति लिएपछि नेपालमा विभिन्न किसिमका सहकारीहरू खुले । विशेषगरी वचत तथा ऋण सहकारी संस्थाहरू सहर तथा ग्रामीण क्षेत्रहरूमा धेरै खुले । ती सहकारी संस्थाहरूले बैंकसम्म पहुँच नभएका सर्वसाधरणलाई घरदैलोमै गएर ‘होम बैंकिङ’ को सुविधा दिएका कारण मानिसहरूको आकर्षण ह्वात्तै बढ्यो ।
छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरी सरल रूपमा उद्योग तथा व्यवसायमा लगानी गर्ने काममा सहकारी सशक्त माध्यम हुन पुग्यो । फलस्वरूप सहकारीप्रति आमजनता आकर्षित भई सहरदेखि गाउँगाउँसम्म सहकारी खुल्ने क्रम तीव्र रूपमा फैलियो ।
सहकारीका विकर्षण
नेपालको मौद्रिक नियमन गर्ने नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रमा सकारात्मक रूपमा भूमिका खेलेन, सम्पति शुद्धीकरण ऐन लागू भइसकेको अवस्थामा राष्ट्र बैंकले समेत सहकारी क्षेत्रमा अनुगमन गर्न सक्नु पर्ने थियो, तर त्यसो हुन सकेन । बरु राजनीतिक हस्तक्षेप बढ्दै गयो । सहकारी सञ्चालकहरूको मनोबल यतिसम्म बढ्यो कि जे गरे पनि हुन्छ भन्नेसम्ममा पुगे ।
फलस्वरूप सहकारीहरूले नै बैंकको का मगर्न थाले । जसका कारण बजारमा तरलता व्यवस्थापन गर्न असहज परिस्थिति बन्दै गयो । सहकारीले तरतताको व्यवस्थापन नगर्दा वचतकर्ताले गरेको वचत स्वयम्ले फिर्ता पाउन नसक्ने अवस्थामा पुग्यो ।
सिद्धियो व्यक्तिको प्रतिष्ठासँगै सहकारी अभियान पनि !
सहकारीका सञ्चालकहरूमा बढेको राजनीतिक पहुँच, सञ्चालकहरूले आफ्नै मात्र कम्पनीहरूमा गरेको लगानी र राजनीतिक व्यक्तिहरूलाई रिजाउँदै जाने कारणबाट सहकारी सँगसँगै वर्षौँको कठोर परिश्रमले बनेको आफ्नो प्रतिष्ठा उनीहरूले एकैपटक गुमाए । सँगसँगै नेपालको सहकारी अभियान पनि ध्वस्त बनाए ।
सहकारी अभियानबाट उदाएका सुधीर बस्नेत, सीबी लामा र इच्छाइच्छाराज तामाङले आफ्नो नाम देश तथा विदेशमा समेत चिनाएका थिए । उनीहरूले वि.सं. २०५० सालतिर हिरोहोण्डाको सुपर स्प्लेण्डर मोटरसाइकलमा हुइँकेर भृकुटीमण्डपमा चिया खाएर बनाएको योजना लोभ लागदोगरी सफल भइसकेको थियो । त्यस बखत यी सबैको आँखामा इमानदारिता र केही गरौँ भन्ने हुटहुटी देखिन्थ्यो ।
बैंकजस्तै कर्पोरेट अफिस, महङ्गा गाडी र छोटो समयमै थुप्रेको अथाह सम्पत्तिले सहकारी मात्र होइन देशको बागडोर नै चलाउन सकिन्छ भन्ने भान यी त्रिदेवहरूमा जाग्यो र विस्तारै ऐन र कानुनभित्र नबसी मनलाग्दी गरेको लगानीको दुष्परिणाम आज समस्त सहकारीका लगानीकर्ताले भोग्नु परेको छ । पछिल्लो समय अधिकांश सहकारी संस्थाहरू लामो समय उठ्न नसक्नेगरी समस्यामा परेका छन् भने वचतकर्ताहरूले आफ्नो वचत फिर्ता पाउन सकेका छैनन् । वचतकर्ताले वचत फिर्ता नपाएको विषय सरकार र सदन हुँदै सडकसम्म पुगेको छ ।
नेपालको कानुनी झमेलाका कारण वचतकर्ताहरूले वचत फिर्ता पाउने कुनै ग्यारेन्टी छैन । अर्कोतर्फ यिनीहरूको अपचलनमा धेरै नेता तथा कर्मचारीको मिलोमतोका कारण पनि कानुनी बाटो सफल भइहाल्छ भन्ने छैन । तर, पनि सीबी लामा, इच्छाबहादुर तमाङ र सुधीर बस्नेतको कथा ‘फिल्म’ बनाउनलायक नै छ !
FACEBOOK COMMENTS