वि.स. २०३० साल पुसमा पोखरामा जन्मिएका सुदीप आचार्य डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक तथा कामना सेवा विकास बैंकका अध्यक्ष हुन् ।
काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका उत्तीर्ण गरेका उनले विज्ञान विषय पढ्ने योजनाअनुरूप ‘ओ’लेभलको तयारी गरेका थिए । तर, प्रमाणपत्र तह (पीसीएल) मा व्यवस्थापन संकायअन्तर्गतको विषय रोजेर मोर्डन इन्डियन स्कुलमा भर्ना भए । त्यो वर्ष उनले एकै समयमा विज्ञान र व्यवस्थापन संकायकै परीक्षा पनि दिए । आफ्नो बुबाको व्यावसायिक स्टाटसका आधारमा उनले व्यवस्थापन विषय छानेको उनी बताउँछन् ।
कक्षा १२ मा उक्लिन नपाउँदै उनले अध्ययनका लागि अमेरिका जाने अवसर प्राप्त गरे । संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न जाने सबै विद्यार्थीहरूका लागि आवश्यक पर्ने ‘गैर–आप्रवासी विद्यार्थीको स्थिति वा योग्यताको प्रमाणपत्र–आई ट्वान्टी’ पनि उनले हाईस्कुलकै प्राप्त गरेका थिए । तत्कालीन समयमा अमेरिकामा रहेका उनको परिवारका नजिकका आफन्त लक्ष्मण शेरचनको महत्वपूर्ण भूमिकामा उनले आई ट्वान्टी प्राप्त गरेका थिए । लक्ष्मण शेरचन पनि अहिले नेपालमै छन् ।
कक्षा १२ को अध्ययन गर्न अमेरिका पुगेका उनलाई आफू गएको विद्यालयका प्रिन्सिपलले नयाँ विद्यार्थी भएका कारण १ सातापछि मात्रै आउन निर्देशन गरे । त्यसबीचको खाली समयमा स्कुलनजिकै रहेको एउटा विश्वविद्यालयमा उनले आवेदन दिए । भाग्यवस ‘ओ’ लेभलको नतिजाका आधारमा विश्वविद्यालयले उनलाई छनोट पनि ग¥यो ।
कम्प्युटर इन्जिनीयरिङ अध्ययन गर्ने इच्छा उनको भए पनि विदेशी विद्यार्थीलाई उक्त विषयमा लगाइएको ‘सर्टेन रेस्ट्रिक्सन’का कारण उनले चाहेको विषय पढ्न पाएनन् । त्यसपछि अनायासै ‘इन्ड्रष्टियल इन्जिनीयरिङ’ विषय पढ्न विवश बनेका उनलाई समय बित्दै र पढ्दै जाँदा सोही विषय अत्यन्तै रोमाञ्चकारी र प्रभावकारी लाग्दै गयो । सन् १९९६ मा उनले इन्ड्रष्टियल इन्जिनीयरिङको अध्ययन सकेर अमेरिकाबाट नेपाल फर्किए ।
अध्ययनका क्रममा अमेरिकामा रहँदा पनि विभिन्न काम गरेका आचार्यले नेपाल फर्किनेवित्तिकै रोटी ‘तोर्तिया’ बनाउने उद्योग सञ्चालन गरे । आफू अमेरिकामा रहँदा टोर्टिल्ला प्रोडक्शन हाउसमा काम गरेको अनुभवका आधारमा उनले त्यससम्बन्धी उद्योग नेपालमा चलाउने योजना बनाएका थिए । त्यसका लागि टेक्नोलोजी र एक्सपर्टहरू अमेरिकाबाटै ल्याइएका थिए । तर, अमेरिकामाझैं कच्चा वस्तु नेपालमा उपलब्ध नहुँदा अमेरिकामाजस्तै त्यो उत्पादन नेपाली बजारमा फस्टाउन सकेन ।
अमेरिकामा आफूले आवेदन नदिँदा नदिँदै पनि अनेकौं अवसरहरूको अफर उनलाई आएका थिए । तर, नेपालमै केही गर्नुपर्छ र आफूले अमेरिकामा पढेर जानेको शीप आफ्नै माटोमा लगानी गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपाल फर्किएका उनले उक्त उद्योग सञ्चालनमा ल्याएका थिए । अपेक्षाकृत उत्पादन गर्न नसकेर उक्त उद्योग असफल भयो तर उनले हार खाएनन् ।
नेपालमा कसैले पनि नगरेको काममा हात हाल्दा केही समस्या आउनु उनी स्वाभाविक ठान्छन् । सञ्चालन गरेको २–३ महिनामै औपचारिक रूपमा उक्त उद्योग बन्द गरेर उनी सन् १९९९ मा स्नातकोत्तर तहको अध्ययन गर्न पुनः अमेरितिरै हानिए ।
अमरिका जाने बेलामा उनले एउटा पस्मिना बोकेर गएका थिए । पछि उनले अध्ययन गर्दागर्दै त्यही पस्मिनाको व्यापार अमेरिकामा थाले । त्यतिबेला भर्खर–भर्खरै अनलाइन÷इन्टरनेटको सेवा शुरू भएको थियो । त्यही सेवाको फाइदा उठाउँदै उनले अमेरिकामा बसेर स्नातकोत्तर अध्ययन गर्दै नेपाली पस्मिनाको व्यापार पनि गरे ।
सन् २००२ मा स्नातकोत्तर तहको अध्ययन पूरा गरेर उनी पुनः नेपाल फर्किए । नेपाल फर्किएसँगै विवाहबन्धनमा बाँधिएका आचार्यदम्पत्ति नै विवाहपछि चीन गए । नेपालमा सशस्त्र द्वन्द्वको अवस्था जारी रहेकाले काम गर्ने उपयुक्त वातावरण नदेखेपछि उनीहरूले चीनमा गएर केही समय व्यापार गरे ।
भारत र अमेरिकामा सामानहरू सप्लाइ गर्ने काम गरे पनि त्यो व्यापार नफस्टाएपछि १ वर्षपछि चीनबाट नेपाल फर्किएका आचार्य पारिवारिक भेटघाटका लागि फेरि अमेरिका गए । तुरुन्तै नेपाल फर्किने सोच बोकेर अमेरिका उडेका उनी करिब ३ वर्ष नेपाली कार्पेट बेचेर अमेरिकामै बसे । किनभने नेपालमा चर्चित ‘माघ १९’को घटना घटेका कारण व्यापार व्यवसायको वातावरण थप बिग्रिएको थियो ।
त्यही अवधिमा उनले अब नेपाल नफर्किने सोचका साथ अमेरिकाको ग्रीनकार्ड समेत लिए । सन् २००८ मा ग्रीनकार्ड प्राप्त भएकै समयमा भेटघाट र घुम्न नेपाल आउने कार्यक्रम बन्यो । जतिबेला नेपालमा वृहत् शान्ति सम्झौता भएर मओवादीको सशस्त्र युद्ध रोकिएको थियो भने सामान्यतः काम गर्ने केही वातावरण बन्दै गएको थियो ।
त्यही मौकामा उनले अमेरिकाको ग्रीनकार्ड त्याग्ने मनस्थिति बनाए र नेपालकै केही हाइड्रो प्रोजेक्टहरूमा संलग्न हुन थाले । त्यसको केही वर्षपछि होम टीभीको अवधारणा आएपछि उक्त कम्पनीमा उनले थोरै लगानी गरेर एड्भाइजरी रोलमा संलग्न भए । होम टीभी र डिश टीभीबीच मर्ज भएपछि उनी लगानीकर्ताका साथै सोही कम्पनीमा संलग्न भएर काम पनि गर्न थाले । आफ्नोसहितको लगानी सुरक्षाका लागि कम्पनीमा काम गरिरहेका उनलाई सन् २०१५ को एप्रिलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्राप्त भयो ।
उक्त जिम्मेवारी प्राप्त भएको दुई हप्ता पनि बित्न नपाउँदै नेपालमा विनाशकारी भूकम्पले जनजीवन प्रभावित बनायो । तर, उनले प्रतिकुल समयमा पनि आफू नेतृत्वको डिशहोमलाई कत्ति पनि प्रभावित हुन दिएनन् । कम्पनीमा कार्यरत सबैसँग आफ्नो राम्रो सम्बन्ध भएकै कारण प्रतिकुल समयमा पनि कम्पनीलाई सूचारु राख्न सफल भएको उनको बुझाई छ । कम्पनीमा सबैको सहयोगले आफू र आफू नेतृत्वको कम्पनी सफल बन्दै गएको उनको भनाइ छ ।
आफू सीईओ भएपछि आफूमाथि धेरै प्रश्नहरू उठाएको स्मरण गर्दै उनले ट्याक्टीकल्ली कम्पनीलाई ग्रोथ गराएको दाबी गर्छन् । टेक्नोलोजीबेसको यो कम्पनीको सफलता यतिमा मात्र सीमित हुँदैन । किनभने निरन्तर रूपमा जसले नयाँ गरिरहन्छ त्यो नै टिक्ने उनको दृष्टिकोण छ ।
जुनसुकै व्यवसाय प्रतिस्पर्धारहित हुननहुने बताउने आचार्य डिशहोमले सबैसँग प्रतिस्पर्धा गरिरहेको र प्रतिस्पर्धामा सबैभन्दा अब्बल रहेर काम गरिरहेको दाबी गर्छन् । प्रतिस्पर्धाले नै इन्नोभेसनको जन्म हुने भएकाले यो आवश्यक भएको समेत उनको तर्क छ ।
उनको जीवनको मार्गदर्शक बुबा–आमा नै हुन् । तर, आफ्नो लगनशीलता र क्षमतामाथि सबैले गरेको विश्वासका कारण आफू निरन्तर अगाडि बढिरहन सकेको उनी बताउँछन् । उनका बुबा–आमाले विभिन्न सल्लाह–सुझाव दिए पनि निर्णय गर्ने अधिकार भने छोराछोरीलाई नै दिने गरेकाले पनि आफूमा नेतृत्व र निर्णय क्षमताहरू प्रवल बन्दै गएको उनको विश्वास छ ।
उनले जुन–जुन भूमिकामा रहेर काम गरिरहेका छन् ती सबै भूमिकामा आफ्नो क्षमता र संस्थागत मूल्याङ्कनको आधारमा स्थापित भएको उनी बताउँछन् । त्यसैले उनी अहिले राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकका अध्यक्ष छन् भने अन्य धेरै संघ–संस्था र सामाजिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा अटाएका छन् ।
FACEBOOK COMMENTS